दलित समाज उत्थान समिति नेपालको वार्षिक प्रगति तथा समिक्षा कार्यशाला सम्पन्न

२०८२ आश्विन १, बुधबार २२:०२

आशिन ०१ :जनकपुरधाम, वल्ड भिजन इन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालित “संरक्षण समुदाय संलग्नता तथा स्पोन्सरशिप कार्यक्रम” अन्तर्गत दुईदिने वार्षिक प्रगति तथा समिक्षा कार्यशाला सम्पन्न भएको छ।
भदौ ३० र ३१ गते जनकपुरधामस्थित होटल वेलकममा आयोजना गरिएको उक्त कार्यक्रममार्फत संस्थाको वार्षिक प्रगति, चुनौती, सिकाइ र आगामी कार्ययोजनाबारे समिक्षा गरिएको थियो।

कार्यक्रम संचालन परियोजना संयोजक उतिम चन्द्र चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य फिरोज चौधरीले व्यक्त गर्नुभएको थियो। कार्यशालाको उद्देश्यबारे Sponsorship Quality Control Officer देविप्रसाद निरौलाले प्रस्तुति दिनुभएको थियो।

उक्त कार्यशालामा दलित समाज उत्थान समितिका अध्यक्ष डेजी पाण्डे, संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिका संयोजक सुनिल ठाकुर, सचिव अजय पासवान, PCESP Focal Person पुनित कुमार चौधरी लगायत संस्थाका अन्य पदाधिकारी तथा परियोजनामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा १६ जना परियोजना कर्मचारी र संस्थाका ६ जना प्रतिनिधि गरी २२ जनाको सक्रिय उपस्थिति थियो।

उपलब्धि तथा प्रतिवेदनको प्रस्तुति

कार्यशालामा परियोजना टोलीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा महोत्तरी जिल्लामा बाल प्रायोजन परियोजनाको सफल कार्यान्वयन मुख्य उपलब्धिको रूपमा उल्लेख गरिएको थियो।
लेखा तथा प्रशासन अधिकृत मुकेश कुमार यादवले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै परियोजनाको पारदर्शिता र जवाफदेहितामा जोड दिनुभयो।

चुनौती र सिकाइका अनुभवहरू

फिल्ड टोलीले कार्यान्वयनको क्रममा भोगेका समस्या, चुनौती र सिकाइहरू प्रस्तुत गरेका थिए। संचारमा प्रभावकारिता, स्थानीय सरकारसँग सहकार्यको खाँचो, र कर्मचारीको क्षमता अभिवृद्धि आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

समूहगत छलफल र आगामी रणनीति

कार्यशालाको दोस्रो चरणमा सहभागीहरूलाई समूहमा विभाजन गरी आगामी वर्षका लागि प्राथमिकता क्षेत्र र रणनीति तय गर्न सुझाव संकलन गरिएको थियो।
प्रमुख सुझावहरूमा सामुदायिक स्वामित्व अभिवृद्धि, निगरानी प्रणालीको सुधार, तथा परियोजनाको दीगो प्रभावका लागि विशेष पहल आवश्यक रहेको देखिएको थियो।

मुख्य निष्कर्षहरू

संस्थाको दृष्टि र मिशनमा पुनः प्रतिबद्धता

आगामी वर्षका लागि प्राथमिकता क्षेत्रको पहिचान

कार्यान्वयन टोली र व्यवस्थापनबीच समन्वय सुदृढ

उत्कृष्ट अभ्यासको अभिलेखीकरण

त्रैमासिक समीक्षा बैठक गर्ने सहमति

समापन तथा सम्मान कार्यक्रम

कार्यशालाको समापन सत्रमा दलित समाज उत्थान समितिका अध्यक्ष डेजी पाण्डे, संयोजक श्री सुनिल ठाकुर, सचिव अजय पासवान, तथा focal person पुनित चौधरीको आतिथ्यतामा परियोजनामा कार्यरत १६ जना कर्मचारीहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यशालाले संस्थागत समिक्षा, सुधारका रणनीति र कर्मचारीबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै संस्थालाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?