नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष आराधना

२०८२ आश्विन ८, बुधबार ०८:१३

काठमाडौं,०८ असोज : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज, नवदुर्गामध्येकी तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देशभरका शक्तिपीठ तथा दशैंघरहरूमा देवीको उपासना भइरहेको छ।

शिरमा अर्धचन्द्र र हातमा घण्ट धारण गर्ने भएकाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो।

पौराणिक ग्रन्थहरूका अनुसार पहेंलो वर्णकी यिनले आसुरी शक्तिको विनाश गर्छिन्। शान्त र करुणामयी स्वरूपकी चन्द्रघण्टा देवीको साधनाले साधकमा शक्ति, चमक र निर्भयता प्राप्त हुने विश्वास गरिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार चन्द्रघण्टा देवीको साधनाले मणिपुर चक्र जागृत हुन्छ। विशेषगरी गीत(सङ्गीत र कला क्षेत्रमा लागेका साधकहरूले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्दछन्। यिनको कृपाले समग्र पाप नाश हुने र जीवनमा ऐश्वर्य प्राप्त हुने जनविश्वास छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिए झैँ आज तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिएको हो।

नवरात्रभरि दुर्गा सप्तशती ९चण्डी० र श्रीमद्देवीभागवत पाठ गर्ने परम्परा छ। यस पर्वमा क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिनेछ।

नवरात्रभरि देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको विशेष भीड लाग्ने गर्दछ। आश्विन शुक्ल प्रतिपदादेखि शुरू भएको यो आराधना विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?