सर्लाही,१० कार्तिक । सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरका विभिन्न छठ घाटहरुमा आज स्थानीय युवाहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सरसफाइ अभियान सञ्चालन गरेका छन्।
संग्रामपुरस्थित बाके नदिको छठ घाट, जमिनदार पोखरी लगायतका स्थानमा बाटोघाटो सफा गर्दै ब्रतालुका लागि स्वच्छ र पवित्र वातावरण तयार गरिएको हो।
आज छठ पर्वको तेस्रो दिन ‘सझिया घाट’का अवसरमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई जलाशय किनारमा गई अर्घ्य अर्पण गर्नेछन्।यस अवसरमा गाउँका विभिन्न पोखरी र नदी किनारलाई आकर्षक रूपमा सजाइएको छ।
स्थानिय युवाहरुका अनुसार, सरसफाइ अभियानको उद्देश्य ब्रतालुहरुलाई घाट पुग्दा कुनै असुविधा नहोस् र पर्वको पवित्रता कायम रहोस् भन्ने रहेको छ।






