काठमाडौँ ,कर्तिक २२ — नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमको निधन भएको छ।
कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा भर्ना रहेका आलमको शुक्रबार राति २ बजेर ५८ मिनेटमा मृत्यु भएको हो।
कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार ६३ वर्षीय आलमको उपचारकै क्रममा निधन भएको हो। उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि पनि आलमलाई ब्रेन स्ट्रोक भएको थियो र त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालको निर्वाचन तयारीका क्रममा बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा आलममाथि मुद्दा चलेको थियो।
उक्त घटनामा संलग्न ठहर गर्दै जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।






