जनकपुरधाम,२२कार्तिक । हालै आठ वटा कम्युनिस्ट पार्टीहरू एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (NCP) अन्तर्गतको युवा संगठन नेपाली कम्युनिस्ट पार्टी – जेनजेड फ्रन्ट (NCP–GF) ले आफ्नो प्रस्तावना र संरचना औपचारिक रूपमा सार्वजनिक गरेको छ।
मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा श्याम साहको संयोजकत्वमा प्रस्तावना प्रस्तुत गरिएको हो। कार्यक्रममा संगठनका केन्द्रीय सदस्य, युवा नेताहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रस्तावनाअनुसार, NCP–GF ले नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र राजनीतिक उत्तरदायित्व वहन गर्दै कम्युनिस्ट आन्दोलनलाई “आधुनिक, वैज्ञानिक र पारदर्शी रूपान्तरणको दिशामा” अघि बढाउने प्रतिबद्धता जनाएको छ।
संगठनले आफ्नो उद्देश्य, नीति र सिद्धान्तमा निम्न मुख्य बुँदाहरू समावेश गरेको छ —
नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र नेतृत्वगत प्रतिनिधित्व सुनिश्चित गर्ने।
समाजवाद, जनसत्ता र वर्गीय समानताको स्थापनाका लागि वैज्ञानिक र व्यावहारिक दृष्टिकोण अपनाउने।
पारदर्शिता, उत्तरदायित्व र सामूहिक नेतृत्वको अभ्यास सुदृढ गर्ने।
युवा पुस्तालाई राजनीतिक चेतना, अध्ययन र अनुशासनमा प्रशिक्षित गर्दै भविष्यको वैचारिक नेतृत्वका रूपमा तयार गर्ने।
प्रस्तावनामा जनवादी क्रान्तीलाई समाजवादी क्रान्तीमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। साथै, संगठनले पार्टीभित्र देखा परेका अवसरवाद, व्यक्तिगत स्वार्थ र वैचारिक विचलनविरुद्ध सुधारको आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
फ्रन्टको नारा:
“राजनीतिक परिवर्तनको अर्को पाना, युवा पुस्ताको नेतृत्व र समाजवादी क्रान्ती।”
कार्यक्रमका संयोजक श्याम साहले भने, “हामी नयाँ पुस्ताको विचार, विज्ञान र संघर्षलाई कम्युनिस्ट आन्दोलनको नयाँ उचाइमा पुर्याउने दृढ संकल्पका साथ अघि बढेका छौं।”
यससँगै, Nepali Communist Party – Genz Front (NCP–GF) ले देशभर संगठनात्मक विस्तार र अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ।






