वातावरणीय अधिकार विषयक सार्वजनिक बहस कार्यक्रम सम्पन्न

२०८२ कार्तिक ३०, आईतवार ०९:४७

जनकपुरधाम,३० कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, डिसिएको आर्थिक सहयोग र कायापलटको समन्वयमा वातावरणीय अधिकार संरक्षण विषयक सार्वजनिक बहस कार्यक्रम जनकपुरधाममा ०८२ कात्तिक २९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले वातावरण प्रदुषण गर्ने कार्य मानिसबाटै हुने गरेकाले वातावरणीय संरक्षणमा जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने आजको आवश्यकता रहेको औँल्याउनु भयो । वायु प्रदुषण न्युनिकरणका लागि वृक्षारोपण र स्वच्छ र सुन्दर जनकपुरधामका लागि प्रदुषण व्यवस्थापन आवश्यक रहेकोले यसमा पालिकाले गम्भीरताका साथ कार्य गरिरहेको बताउनु भयो । कार्यक्रममा उठेका सवालका सन्दर्भमा वातावरण विज्ञहरुसँग सम्वाद र छलफल गरी परिषद्को बैठकमा प्रस्तावको रुपमा लगेर सम्बोधन गराउने प्रतिबद्धता उहाँले जनाउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले सरकारले वातावरणको अधिकार स्वयम्‌ले सुनिश्चित गर्न नसकेको अवस्थामा गैरसरकारी संस्था र वातावरणीय विज्ञको सहयोग लिएर नागरिकको वातावरणीय अधिकारलाई संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो । वातावरणीय अधिकार नागरिकको मानव अधिकार भएको उल्लेख गर्नु हुँदै यो हाम्रो साझा सवालमा सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनु पर्ने उहाँले बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई संविधानमा उल्लेख गरेको हुँदा उक्त हकलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताउनु भयो । मधेस प्रदेशमा चुरे दोहनका कारण प्रत्येक्ष रुपमा वातावरणीय अधिकारलाई प्रभाव पारिरहेको हुँदा यसतर्फ सरकारले गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको उल्लेख गर्नु हुँदै छुट्टै ऐन र कानुन बनाएर भएपनि नागरिकको वातावरणीय अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयो ।
वातावरण विज्ञ अजित श्रीवास्तवले वातावरणीय प्रदुषण जनकपुरधाममा बढिरहेको उल्लेख गर्दै वृक्षारोपण र सरसफाइ जनकपुरधामले प्राथमिकतामा राखेर गर्नु पर्नेमा जोड दिनु भयो । अध्ययन अनुसन्धान गरेर फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सकिए राम्रो र सुन्दर पालिका हुने उल्लेख गर्नु हुँदै जरिबानाको व्यवस्था नगरेसम्म जनकपुरधाममा फोहोर व्यवस्थापन हुन नसक्ने उहाँको भनाई थियो ।

वन तथा वातावरण मन्त्रालयका वातावरण तथा जलवायु अनुकूल शाखा प्रमुख राम युगल साहले वातावरणीय क्षेत्रमा मन्त्रालयले अध्ययन र अनुसन्धानको कार्यलाई अगाडि बढाइरहेको उल्लेख गर्नु हुँदै आफू मन्त्रालयमा रहँदासम्म अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मीसँग समन्वय गरेर वातावरणको क्षेत्रमा योगदान दिने प्रतिबद्धता जनाउनु भयो ।
होटल, अस्पताल तथा उद्योग कलकारखानाबाट निकालिने विकार तथा प्रदुषण पदार्थ तथा वस्तुहरुलाई व्यवस्थित गराउने कार्यमा मन्त्रालयबाट पत्राचारको कार्य भइरहेको उहाँले बताउनु भयो ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका महिला अधिकृत दिपिका कर्णले पानी, दाउरा र घाँस ल्याउने लगायतका प्राकृतिक स्रोतहरुमा महिला बढी नजिक रहेर कार्य गरिरहेको हुँदा प्रत्यक्ष रुपमा महिला वातावरणीय प्रभावमा पर्ने गरेको बताउनु भयो । वातावरणसँग सम्बन्धित सरकारको नीति तथा कार्यक्रमहरु पनि महिलामैत्री हुनु पर्ने र सोका लागि मन्त्रालय लागिरहेको उहाँले उल्लेख गर्नु भयो ।

अर्थ किलिन ग्रिनका संस्थापक दिपु ठाकुरले सरसफाई तथा फोहोर व्यवस्थापन ऐन र कार्यविधि समेत जनकपुरधाम उपमहानगरपालिकाले पारित गरिसकेको तर, कार्यान्वयन हुन नसकेको गुनासो गर्नु भयो । पालिकाले एक ठाउँबाट फोहोर उठाएर अर्को ठाउँमा फोहोर फालेकोले ती फोहोर प्रशोधन र डम्पिङ्ग साइडहरुको व्यवस्थापन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

दलित महिला संघ धनुषाका परियोजना संयोजक सिजेन्द्र सदा, पिपुल प्रोमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डल, जवास नेपालकी मन्दाकुमारी कर्ण, ग्रिन स्पेश नेपालका अध्यक्ष धरिज साह, जनकपुरधाम उपमहानगरपालिकाका–८ की वडा सदस्य मुनी दास र वडा १० की वडा सदस्य नितु मलिक लगायतले फोहोर व्यवस्थापन, ध्वनी पोलुशन, वायु प्रदुषण र चुरे संरक्षणमा प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्न सुझाव दिनु भएको थियो । कार्यक्रमको सञ्चालन कायापलटका संस्थापक अध्यक्ष दिवाकर उप्रेतिले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?