हस्ताक्षर किर्ते गरी बैंक खाता सञ्चालन गरेको आरोप, स्ववियू कक्षमा तोडफोड गर्दै तालाबन्दी

२०८२ पुष ९, बुधबार १९:३५

सप्तरीस्थित महेन्द्र विन्द्रेश्वरी बहुमुखी क्याम्पस, राजविराजमा हस्ताक्षर किर्ते गरी बैंक खाता सञ्चालन गरिएको आरोप लगाउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) कक्षमा तोडफोड गरी तालाबन्दी गरिएको छ।

स्ववियू सचिव मुकेश कुमार साहले स्ववियू अध्यक्ष रंजित कुमार यादवले सचिव तथा अन्य सदस्यहरूको किर्ते हस्ताक्षर प्रयोग गरी बैंक खाता सञ्चालन गरेको आरोप लगाएका छन्। सचिव साहका अनुसार गत असार १७ गते बसेको स्ववियू बैठकमा ६ जना सदस्य उपस्थित रहेको उल्लेख गरी निर्णय पत्रमा आफूले हस्ताक्षर नगरे पनि किर्ते हस्ताक्षर प्रयोग गरेर क्याम्पस प्रशासनको मिलेमतोमा नेपाल बैंक लिमिटेडमा खाता सञ्चालन गरिएको हो।

यस विषयमा प्रतिक्रिया दिँदै स्ववियू सचिव मुकेश कुमार साहले भने,
“मेरो हस्ताक्षर किर्ते गरी क्याम्पस प्रशासनको मिलेमतोमा खाता सञ्चालन गरिएको छ। यसले स्ववियूको गरिमा र विधि दुवैमाथि प्रश्न उठाएको छ।”

उक्त घटनापछि आक्रोशित विद्यार्थीहरूले स्ववियू कक्षमा तोडफोड गर्दै तालाबन्दी गरेका छन्। विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन्।

यसैबीच, स्ववियू अध्यक्ष रंजित कुमार यादवले भने आफूविरुद्ध लगाइएको आरोप पूर्ण रूपमा गलत र निराधार रहेको दाबी गरेका छन्। अध्यक्ष यादवले स्ववियूको निर्णयअनुसार नै बैंक खाता सञ्चालन गरिएको र कुनै पनि किसिमको किर्ते हस्ताक्षर प्रयोग नगरिएको स्पष्ट पारे।

विवाद समाधान नभए विद्यार्थीहरूले न्यायका लागि अदालत जाने चेतावनी दिएका छन्। क्याम्पस प्रशासनले भने घटनाबारे आन्तरिक छलफल भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?