मोटरसाइकल दुर्घटनामा कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन

२०८२ पुष १०, बिहीबार १३:५७

जनकपुरधाम ,पुष १०— मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।

प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेशचोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मिनष थापा कोशी प्रदेशका एक प्रतिभाशाली क्रिकेटरका रूपमा परिचित थिए। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग (PPL) खेलिसकेका थिए भने कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाएका थिए।

उनको असामयिक निधनले नेपाली क्रिकेट क्षेत्र, विशेषगरी कोशी प्रदेशको क्रिकेट समुदाय शोकमा डुबेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?