जहाज दुर्घटनाबारे अध्ययन गर्न कम्पनीको टेक्निकल टोली घटनास्थलतर्फ

२०८२ पुष १८, शुक्रबार २२:३३

काठमाडौँ, पौष १८ । झापाको भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे अध्ययन गर्न कम्पनीको टेक्निकल टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट भद्रपुर उडानमा रहेको ९एन–एएमएफ कलसाइनको एटिआर–७२ जहाज शुक्रबार राति रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको हो।

बुद्ध एयरले काठमाडौँबाट अर्को जहाजमार्फत टेक्निकल तथा रिलिफ टिम पठाइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज रन–वे पार गर्दै चिप्लिएपछि दुर्घटना भएको हो।

जहाजमा सवार ५१ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको प्राधिकरणले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?