जनकपुरधाम पौष २३ :सर्लाहीको मलंगवा बजार बन्द गराउन निस्किएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान बजार बन्द गराउँदै हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी हाल हिरासतमा राखेर सोधपुछ भइरहेको छ।
जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोजकुमार राईले बिहान केही समय तनावपूर्ण अवस्था देखिए पनि अहिले स्थिति पूर्ण रूपमा सामान्य रहेको जानकारी दिए। पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन।
बजार आंशिक रूपमा खुलेको भए पनि अधिकांश पसलहरू बन्द नै छन्। यसैबीच, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार मलंगवाबाहेक अन्य जिल्लाहरूमा अवस्था शान्त रहेको छ।






