२७ पुस, काठमाडौं ।चितवनको सिमलताल क्षेत्र नजिकै बस जस्तै देखिने सवारीसाधनको टुक्रा फेला परेको छ ।
सिमलतालबाट करिब दुई सय मिटर तल पारितर्फ बसको जस्तो देखिने टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार घटनाबारे सूचना प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भएको छ ।
डीएसपी खनालले भने, बस जस्तै देखिने कुनै सवारीको टुक्रा भेटिएको खबर आएको छ । इन्स्पेक्टरको टोली घटनास्थल पुग्दैछ, त्यसपछि मात्रै यकिन विवरण आउनेछ ।
यसअघि २०८१ असार २८ गते सिमलतालस्थित त्रिशूली नदीमा दुईवटा यात्रुवाहक बस खसेर बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस दुर्घटनामा परेका थिए ।
दुर्घटनापछि केही यात्रुको शव फेला परेको भए पनि केही अझै बेपत्ता छन् । हाल देखिएको बस जस्तै सवारीको टुक्रा ती बेपत्ता बससँग सम्बन्धित हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।






