सर्लाहीमा टिपर–ट्याक्टर ठोक्किँदा एक जना गम्भीर घाइते

२०८२ पुष २७, आईतवार १९:३४

जनकपुरधाम २७ पुष। सर्लाहीमा टिपर र ट्याक्टर ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। बरहथवा नगरपालिका–११ स्थित मधुवनी–नयाँरोड सडकखण्डमा आइतबार बिहान भएको दुर्घटनामा ट्याक्टर चालक गम्भीर घाइते भएका हुन्।

दुर्घटनामा बरहथवा नगरपालिका–४ निवासी करिब ३० वर्षीय अनिल महतो घाइते भएको जिल्ला प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेकाले बरहथवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

आइतबार बिहान करिब ८ बजे गिट्टी बोकेको १५८ नम्बरको टिपरले विपरीत दिशाबाट उखु बोकेर आउँदै गरेको ट्याक्टरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर मधेश प्रदेशसभा सदस्य बिरेन्द्र प्रसाद सिंहका दाइ सुरेन्द्र सिंहको क्रसर उद्योगको रहेको खुलेको छ। टिपर चालक सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी सन्तोष कुमार सिंह सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि आफन्तले अस्पताल लगेका इलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?