रा.रा.ब. क्याम्पस अगाडि अव्यवस्थित पार्किङ, सडक साँघुरिँदाआवत जावतमा समस्या

२०८२ पुष २८, सोमबार १५:३६

जनकपुरधाम पुष,२८ :रामस्वरूप रामसागर बहुमुखी (रा.रा.ब.) क्याम्पस अगाडिको मुख्य सडक अव्यवस्थित पार्किङका कारण साँघुरो बनेको छ। क्याम्पस परिसरभित्र व्यवस्थित पार्किङ स्थल उपलब्ध हुँदाहुँदै पनि सवारी साधनहरू सडकको दुवै किनारामा जथाभावी राखिँदा दैनिक आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको हो।
सडक साँघुरिँदा सर्वसाधारण मात्र होइन, यही मार्ग प्रयोग गर्ने स्कुल गाडीहरूलाई समेत सहज रूपमा आवतजावत गर्न कठिन भइरहेको छ। एम्बुलेन्ससहित अन्य अत्यावश्यक सवारी साधनहरू पनि पटक–पटक जाममा पर्ने गरेका छन्।

स्थानीयका अनुसार क्याम्पसभित्र खाली र व्यवस्थित पार्किङ हुँदाहुँदै त्यसको प्रयोग नगरिनु सरासर लापरवाही हो। सवारी साधनहरू अनिवार्य रूपमा क्याम्पसभित्रै पार्क गराउने स्पष्ट व्यवस्था तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ।
भित्र पार्किङ हुँदाहुँदै सडकमै सवारी साधन राख्ने प्रवृत्तिप्रति क्याम्पस प्रशासन, स्थानीय जनप्रतिनिधि र ट्राफिक प्रहरीको बेवास्ता देखिएको गुनासो छ। जिम्मेवार निकायको मौनताले समस्या थप जटिल बन्दै गएको बताइएको छ।
स्थानीयवासीले क्याम्पसभित्रको व्यवस्थित पार्किङ तुरुन्त सञ्चालनमा ल्याई सडक क्षेत्र खाली गराउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?