जनकपुर, ३० पुस । जनकपुरको रामानन्दचौकमा टिपरको ठक्करबाट एक जना युवती गम्भीर घाइते भएकी छन्।
जनकपुरबाट ढल्केवरतर्फ गइरहेको टिपरले सडक पार गरिरहेकी युवतीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा धनुषाको मिथिला बिहारी नगरपालिका–तारापट्टीकी २६ वर्षीया नितु साह गम्भीर घाइते भएकी छन्। दुर्घटनालगत्तै स्थानीयवासीले उनलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए।
धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमका अनुसार घाइते साहको उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले टिपरलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
स्थानीयवासीका अनुसार रामानन्दचौक क्षेत्रमा सवारी साधनको चाप अत्यधिक हुने र तीव्र गति तथा लापरवाहीका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।






