११ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच २० महिनापछि सम्वाद भएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण समारोहमा सहभागी हुन शीतल निवास पुगेका दुई पूर्वप्रधानमन्त्री एकै ठाउँमा बस्न पुगेका थिए । लामो समय एउटै पार्टीमा रहेका, तर अहिले अलग भएका दुई नेता भेट हुँदा लामो समय नबोली बस्ने अवस्था हुन्न ।
मञ्चमा शपथ ग्रहण चलिरहँदा ओलीले माधव नेपाललाई कोट्याएर सोधे, ‘तपाई बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ । अहिले कस्तो छ ?’
निमोनियाको लक्षण देखिएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष नेपालले अहिले आफ्नो अवस्था ठीकै रहेको बताए । र, बेलाबेला स्वास्थ्यमा सामान्य समस्या आउने बताए । त्यसपछि भने थप सम्वाद भएन ।
प्रधानमन्त्री र मन्त्रीहरुको शपथ सकिएपछि शीर्ष नेताहरुका लागि राष्ट्रपति कार्यालयले खाजाको व्यवस्था गरेको थियो । संयोग नै मान्नुपर्छ, फेरि ओली र नेपाल एकै ठाउँमा परे । त्यहाँ भने दुई नेताबीच राजनीतिक विषयमा पनि सम्वाद भएको नेताहरु बताउँछन् ।
दुई नेताको नजिकै रहेका एक सहभागीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले ‘म पनि किनारामा बसेर हेरिरहेको छु’ भनेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि ‘तपाईं मात्र किन ? म पनि किनारामै बसेर हेरिरहेको छु’ भन्ने जवाफ दिएका छन् ।






