राजविराज, सप्तरी चन्दन रजक माघ २ : सप्तरी जिल्लामा जनमत पार्टीप्रति महिलाहरूको आकर्षण क्रमशः बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानबाट महिलाहरू संगठित रूपमा पार्टीमा आबद्ध हुन थालेपछि जिल्लाको राजनीतिक गतिविधि थप चलायमान बनेको छ।
जनमत पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य ममता झाको नेतृत्वमा केन्द्रीय सदस्यहरू सञ्जय मधेशी, रेखा मण्डल तथा थारू जनमत संघ प्रदेश इन्चार्ज मन्जु चौधरीको सक्रिय सहभागितामा महिलालाई पार्टीमा जोड्ने अभियान प्रभावकारी रूपमा अघि बढाइएको छ। स्थानीय महिलाहरूका अनुसार जनमत पार्टीले उठाउँदै आएको अधिकार, सहभागिता र राजनीतिक चेतनासम्बन्धी मुद्दाले उनीहरूलाई आकर्षित गरेको हो।
महिलाको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित सञ्चालन भइरहेको अभियानले जिल्लामा नयाँ ऊर्जा थपेको पार्टीले जनाएको छ। पार्टी स्रोतका अनुसार आगामी दिनमा महिला लक्षित कार्यक्रमहरूलाई अझ विस्तार गर्दै लैजाने तयारी गरिएको छ।
पछिल्लो एक साताको अवधिमा सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ अन्तर्गत १९ वटा वडामा महिला जनमत संघ गठन भइसकेको छ। छिन्नमस्ता, राजविराज, महदेवा, तिलाठी–कोइलाडी तथा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडामा संघ गठन सम्पन्न भएको जनाइएको छ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य ममता झाले वडास्तरसम्म महिला जनमत संघ गठन गर्ने अभियानलाई जिल्लाभर निरन्तरता दिइने जानकारी दिइन्।






