मोहम्मद इर्शाद ,महोत्तरी माघ ५ । २५औं सशस्त्र प्रहरी दिवस अर्थात् रजत महोत्सवको विशेष अवसरलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीद्वारा सञ्चालन गरिएको QIP (Quick Impact Project) अन्तर्गत परिक्रमा गाछीस्थित चापाकलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रारम्भ राष्ट्रिय धुन बजाएर गरिएको थियो। समुदायको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै छोटो समयमा कार्यान्वयन गरिने विकास परियोजनाका रूपमा QIP सञ्चालन गरिँदै आएको छ। QIP (Quick Impact Project) अन्तर्गत प्रभावकारी पूर्वाधार निर्माण, आधारभूत सेवा प्रवाह तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी स्थानीय समुदायको जीवनस्तरमा छिटो र प्रत्यक्ष प्रभाव पार्ने उद्देश्य राखिएको छ।
यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीले QIP अन्तर्गत वि.सं. २०८० माघ ५ गते एकडारा गाउँपालिका वडा नं. … स्थित हलखोरीमा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने वि.सं. २०८१ माघ २ गते मनरा–शिसवा नगरपालिका वडा नं. २ स्थित भोल्हीमा निर्माण गरिएको प्रतिक्षालय पनि सफलतापूर्वक हस्तान्तरण गरिसकेको छ।
उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल साथै सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हे.क्वा. महोत्तरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक शेर बहादुर अधिकारी, विभिन्न वडाका वडा अध्यक्षहरू, वरिष्ठ तथा कनिष्ठ अधिकृतहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि मन्डलले QIP परियोजनाले स्थानीय समुदायको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै सशस्त्र प्रहरी बलको सामाजिक उत्तरदायित्व र समुदाय–सुरक्षा साझेदारीलाई थप सुदृढ बनाउने बताए।






