यौनिक तथा लैङ्गिक अल्पसंख्यक दलित समुदायका सवालमा प्रदेशस्तरीय अन्तर्क्रिया सम्पन्न

२०८२ माघ १३, मंगलवार १८:३८

जनकपुरधाम,१३ माघ । दलित फ्रीडम सेन्टर मधेश प्रदेशको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समानुपातिक सुरक्षा र उनीहरूले भोग्दै आएका समस्यामाथि केन्द्रित प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

कार्यक्रममा समरी उथान नामक संस्थाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र रहेका दलित समुदायका व्यक्तिहरूले भोग्ने पीडा, सामाजिक विभेद, बहिष्करण र अधिकारका सवालहरूबारे विस्तृत छलफल गरेको थियो। सहभागी वक्ताहरूले यौनिक पहिचान र जातीय पहिचान दुबै कारण दोहोरो विभेद खेप्नुपरेको यथार्थलाई गम्भीरतापूर्वक उठाएका थिए।

अन्तर्क्रियामा स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, समाजसेवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति अझै पनि समाजमा रहेको गलत धारणा र संरचनागत विभेद अन्त्य गर्न नीतिगत सुधार र व्यवहारिक पहल आवश्यक रहेको धारणा राखे।

कार्यक्रमको निष्कर्षमा सहभागी सबैले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण, सम्मान र समान अवसरका लागि सामूहिक रूपमा प्रतिबद्धता व्यक्त गरेका छन्। यस किसिमका छलफलले नीति निर्माणदेखि स्थानीय तहसम्म समावेशी सोच विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?