कुखुरा–बाख्रासँग भोट मागेको भन्दै आएको ट्रोलपछि आशिका तामाङको प्रतिक्रिया

२०८२ माघ १९, सोमबार १४:१७

काठमाडौं, माघ १८ । कुखुरा र बाख्रासँग भोट मागेको भन्दै सामाजिक सञ्जालमा ट्रोल र व्यङ्ग्य हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ आशिका तामाङले आफ्नो पृष्ठभूमि र उद्देश्य स्पष्ट पारेकी छन्।

तामाङले आफू धादिङको मलेखुमा जन्मिएकी किसान परिवारकी छोरी भएको उल्लेख गर्दै आफ्नो संघर्षपूर्ण जीवन यात्रालाई स्मरण गरिन्। आफ्ना स्वाभाविक क्रियाकलापलाई लिएर भइरहेको व्यङ्ग्यप्रति कुनै गुनासो नरहेको बताउँदै उनले किसान र पशुपालनसँग जोडिएको जीवन सहरिया दृष्टिले नबुझिने यथार्थ भएको बताइन्।

उनले आफ्नो राजनीतिक यात्राको मुख्य उद्देश्य उपेक्षित किसानका समस्या उठाउनु रहेको बताइन्। कृषि र पशुपालनले उचित मूल्य नपाउँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको अवस्था अन्त्य गर्न आफू संघर्षरत रहने प्रतिबद्धता पनि जनाइन्।

साथै तामाङले विपक्षीहरूलाई व्यक्तिगत आलोचना र व्यङ्ग्यमा सीमित नहुन आग्रह गर्दै जनताको घरदैलोमा पुगेर स्पष्ट एजेन्डासहित राजनीति गर्न सुझाव दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?