साउदीबाट सपनासहित फर्किएका देवचन्द्रको जीवनमा कालो रात — लुटपाटपछि हात र खुट्टा गुमाउँदै ऋणको भारी

२०८२ फाल्गुन ५, मंगलवार १७:१६

जनकपुरधाम फालगुन ५ :सप्तरीको तिलाठी कोइलाडी–३, सकरपुराका देवचन्द्र मुखिया दुई वर्षसम्म साउदी अरबमा पसिना बगाएर कमाएको पैसासँगै ७० दिनको बिदा लिएर खुशी–खुशी घर फर्किएका थिए।

परिवारसँग भेट्ने, केही समय सुखले बिताउने र फेरि नयाँ आशा बोकेर विदेश फर्किने उनको सपना थियो। तर, नेपाल टेक्नेबित्तिकै उनको जीवनमा यस्तो बज्रपात भयो, जसले सबै खुशी खोसिदियो।

माघ १२ गते काठमाडौंबाट लहानसम्म हाइसमा पुगेका देवचन्द्रले त्यहाँबाट राजविराज जान अटो रिजर्भ गरेका थिए। तर त्यो यात्रा गन्तव्यसम्म पुगेन। बाटोमै अटो चालकसहितको समूहले उनीमाथि निर्घात लुटपाट गर्‍यो। प्रतिकार गर्ने कुनै अवस्था नै नदिई उनीमाथि भएको आक्रमणपछि टेम्पोले किच्दा उनको शरीर र भविष्य दुवै चकनाचुर बन्यो।

रगताम्य अवस्थामा सडक किनारामा छट्पटाइरहेका उनलाई स्थानीय र प्रहरीले अस्पताल पुर्‍याए। तर उपचारका क्रममा डाक्टरले उनको एउटा हात र एउटा खुट्टा काट्नुपर्ने कठोर निर्णय सुनाए।

विदेशमा कमाएको पसिनाको कमाइ त लुटियो नै, अहिले उनी आफैं शारीरिक रूपमा अपाङ्ग बनेर अस्पतालको शय्यामा जीवनसँग लडिरहेका छन्।

उपचार खर्च जुटाउन उनले ऋण लिनुपर्‍यो — अहिले उनी साढे ७ लाखभन्दा बढीको ऋणमा डुबेका छन्। घरपरिवारको सहारा बन्न विदेश गएका देवचन्द्र आज आफैं परिवारको सहारामा बाँच्न बाध्य भएका छन्।

उनको पीडा केवल एउटा व्यक्तिको कथा होइन, वैदेशिक रोजगारीबाट फर्किने हजारौँ युवाको सुरक्षामाथि उठेको गम्भीर प्रश्न पनि हो। देवचन्द्रको आँखामा आज पनि एउटा प्रश्न छ — “के आफ्नै देश फर्किनु मेरो सबैभन्दा ठूलो भूल थियो?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?