महोत्तरी, फागुन १२ — दलित समाज उत्थान समिति नेपाल IRDS तथा World Vision International Nepal को साझेदारीमा सञ्चालित बाल समृद्धिको लागि हातेमालो कार्यक्रमअन्तर्गत प्रायोजना सञ्चालन योजना सम्बन्धी तीन दिने तालिम आइतबार सम्पन्न भएको छ। तालिम फागुन १० देखि १२ गतेसम्म जलेश्वरस्थित आर.एस. थकाली रिसोर्टमा सम्पन्न भएको हो।
कार्यक्रममा दलित समाज उत्थान समिति नेपाल (DSWCN) र IRDS का गरी जम्मा २८ जना कर्मचारीको सहभागिता रहेको थियो। तालिममार्फत प्रायोजन कार्यक्रमको समझ अभिवृद्धि, प्रायोजन ३.० कार्यप्रणालीसम्बन्धी जानकारी, दर्ता बालबालिका (आर.सी.) व्यवस्थापन, तथ्यांकको गुणस्तर सुधार तथा वार्षिक/त्रैमासिक सञ्चालन योजना निर्माण क्षमतामा वृद्धि गर्ने उद्देश्य राखिएको थियो।
साथै जोखिम पहिचान, बाल सुरक्षा तथा जवाफदेहिता प्रणाली सुदृढीकरण सम्बन्धी विषयमा पनि विस्तृत छलफल गरिएको थियो।
तालिमको सहजिकरण दिलिप यादव, जिल्ला संयोजक (World Vision International Nepal), उतिम चन्द्र चौधरी, कार्यक्रम संयोजक (DSWCN), धर्मराज उप्रेति, कार्यक्रम व्यवस्थापक (IRDS) तथा व्यवस्थापन श्री रवी महतो (DSWCN)ले गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता दलित समाज उत्थान समिति नेपालका महासचिव श्री रवी भूषण ठाकुरले गर्नुभएको थियो। अतिथिका रूपमा IRDS का कोषाध्यक्ष तथा कार्यक्रम फोकल पर्सन उमेश न्यौपाने उपस्थित रहनुभएको थियो।
तालिम समापनका अवसरमा सहभागीहरूले प्रायोजना सञ्चालन योजना निर्माण, प्रायोजकसँगको समन्वय, तथ्यांक व्यवस्थापन तथा जोखिम व्यवस्थापनसम्बन्धी सीप र ज्ञानमा सुधार आएको जनाएको छ। तालिमले साझेदार संस्थाहरूबीच समन्वय, जवाफदेहिता तथा कार्यक्रम कार्यान्वयनमा थप स्पष्टता र प्रभावकारिता वृद्धि गरेको निष्कर्ष प्रस्तुत गरिएको छ।






