जनकपुरधाम, १६ फागुन।धनुषामा प्रेम सम्बन्धको विवादका कारण १८ वर्षीय युवकको बीभत्स हत्या भएको घटना सार्वजनिक भएको छ। औरही गाउँपालिका–६ चक्करस्थित खेतमा घाँटी रेटिएको अवस्थामा फेला परेका हंसपुर नगरपालिका–९ रुदौलीका सुमित मण्डलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले प्रेमिकासहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सुमितको हत्या फागुन १३ गते राति नै गरिएको थियो भने उनको शव फागुन १४ गते बेलुका खेतमा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार सुमित फागुन १३ गते साँझ करिब ६ बजे हंसपुर–६ सोनिगामास्थित आफ्नी १८ वर्षीया प्रेमिका काजल मण्डललाई भेट्न उनको घर पुगेका थिए। घरमा कोही नभएको समयमा दुवै जना सँगै रहेको देखेपछि काजलका काकाले आफ्ना भतिज दिपेश मण्डललाई बोलाएर सुमितलाई नियन्त्रणमा लिएका थिए।
त्यसपछि उनीहरूले सुमितलाई कुटपिट गरी हात बाँधेर मोटरसाइकलमा राखी चक्करस्थित खेतमा पुर्याएका थिए। सोही स्थानमा दिपेश मण्डलले साथमा रहेको दाउले सुमितको घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २९ वर्षीय प्रमेश्वर मण्डल, २० वर्षीय दिपेश मण्डल र १८ वर्षीया काजल मण्डललाई पक्राउ गरेको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ तथा शव ओसार्न प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिएका छन्।






