आसन्न निर्वाचन २०८२ फाल्गुन २१ गतेलाई लक्षित गर्दै सप्तरी जिल्लाका २९६ वटै मतदान स्थलमा एकै समयमा एकैसाथ नेपाली सेना अन्तर्गत श्री बरख गणले व्यापक सुरक्षा अभ्यास तथा निगरानी बढाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पैदल, सवारीसाधन तथा मोटरसाइकल गस्तीमार्फत स्थलगत रूपमा सुरक्षा प्रदर्शन गरिएको जनाइएको छ।
जोखिम मूल्याङ्कन, अघिल्ला निर्वाचनका अनुभव तथा संवेदनशील क्षेत्रको विश्लेषणका आधारमा विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको सेनाले जनाएको छ।
सेनाका अनुसार संवेदनशील तथा अतिसंवेदनशील मतदान स्थलहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, आकस्मिक जाँच तथा निगरानी व्यवस्था कडा पारिएको छ। मतदान स्थल वरपर २४ सै घण्टा सुरक्षा निगरानी रहने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिइएको छ।
निर्वाचन आचारसंहिताभित्र रही आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउँदै सेनाले निर्वाचन प्रक्रियामा अवरोध पुर्याउन सक्ने व्यक्ति तथा समूहहरूको गतिविधिमाथि विशेष निगरानी बढाएको बताएको छ।
आधुनिक प्रविधिको प्रयोग, गस्ती तथा ‘फ्ल्याग मार्च’मार्फत सम्भावित जोखिमयुक्त क्षेत्र र भाग्न सक्ने बाटोहरूको पहिचान गरिएको छ। साथै, सैनिक–नागरिक सम्बन्ध सुदृढ गर्दै स्थानीय बासिन्दासँग सहकार्य गरी शंकास्पद गतिविधि नियन्त्रणमा लिनेतर्फ ध्यान केन्द्रित गरिएको छ।
कुनै पनि अवाञ्छित तथा अराजक गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई प्रचलित कानुनको दायरामा ल्याइने सेनाले स्पष्ट पारेको छ।
सप्तरी जिल्लाभर रहेका सयौँ मतदान केन्द्रमार्फत हजारौँ मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ। व्यापक सुरक्षा व्यवस्थासँगै यसपटकको निर्वाचन थप व्यवस्थित, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।






