काठमाडौँ २५ चैत । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिर परिसरमा दुई युवामाथि चक्कु प्रहार भएको छ। प्रहरीका अनुसार कृष्ण मन्दिर परिसरमा चार जनाको समूहमा आएका युवाहरूले दुई युवामाथि चक्कु प्रहार गरेका हुन्।
घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते दुवैलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी पूर्णिमा चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त टोली अहिले चक्कु प्रहार गर्नेहरूको खोजी तथा घटनाको अनुसन्धानमा जुटिरहेको डीएसपी चन्दले बताइन्। चक्कु प्रहारबाट घाइते भएका दुवै युवाको परिचय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।






