काठमाडौं चैत्र २८। नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरलाई लक्षित गर्दै सांसद सागर ढकालले भावपूर्ण शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा ठाकुरको जीवन संघर्ष, पारिवारिक पृष्ठभूमि र प्रतिनिधित्वले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको उल्लेख गरेका छन्।
ढकालले नेपालका वास्तविक समस्या र अवस्था बुझ्नका लागि रुबी ठाकुरजस्ता परिवार र समुदायलाई हेर्न पर्याप्त हुने बताएका छन्। उनले मधेश, कर्णाली र सुदूरपश्चिम जस्ता पछाडि पारिएका क्षेत्रका नागरिकहरूलाई मूलधारमा ल्याउन सके मात्र देशको समग्र विकास सम्भव हुने धारणा राखेका छन्।
उनका अनुसार, आज एकजना रुबी उठेकी छन्, तर जब देशभरका लाखौँ रुबीहरू उठ्नेछन्, तब मात्रै नेपाल सशक्त रूपमा अघि बढ्नेछ।
सांसद ढकालले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति पनि आभार प्रकट गर्दै, रुबी ठाकुरजस्तो प्रतिनिधित्वलाई राष्ट्रिय संसदसम्म पुर्याउन भूमिका खेलेको उल्लेख गरेका छन्।
त्यसैगरी, उनले रुबी ठाकुरलाई सम्भवत विश्वकै सबैभन्दा कान्छो उपसभामुखको रूपमा चित्रण गर्दै यसलाई युवा पुस्ताको उपलब्धिका रूपमा व्याख्या गरेका छन्। जेन–जीको बलिदानले अर्को न्याय पाएको छ भन्दै उनले आगामी दिनमा पनि ठाकुरले आफ्नो सादगी, इमान्दारिता र जनपक्षीय धारणा कायम राख्ने विश्वास व्यक्त गरेका छन्।
ढकालले उपसभामुख ठाकुरको सफल कार्यकालको कामना गर्दै देश परिवर्तनको अभियानमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन्।






