जुर शीतल पर्व: शीतल जलसहित आशीर्वाद आदान–प्रदान गर्दै मधेशमा उल्लास

२०८३ बैशाख २, बुधबार ०८:२१

जनकपुरधाम,०८३ वैशाख २ । मधेश प्रदेशसहित तराई–मधेश क्षेत्रमा आज हर्षोल्लासका साथ जुर शीतल पर्व मनाइएको छ। नेपाली नयाँ वर्षको दोस्रो दिन मनाइने यो पर्व विशेषगरी मैथिल समुदायमा लोकप्रिय रहेको छ।

यस पर्वमा बिहानै घरका ज्येष्ठ सदस्यले कनिष्ठ सदस्यको टाउकोमाथि शीतल जल राखेर आशीर्वाद दिने परम्परा रहेको छ। यसले वर्षभरि शीतलता, स्वास्थ्य र समृद्धिको कामना गर्ने विश्वास गरिन्छ।
ग्रामीण क्षेत्रमा इनार, पोखरी तथा धाराबाट पानी ल्याई परिवारका सदस्यबीच परम्परागत विधिअनुसार प्रयोग गर्ने चलन अझै जीवित छ भने शहर क्षेत्रमा पनि सांकेतिक रूपमा यो परम्परा निभाइँदै आएको छ।

जुर शीतलको अवसरमा घरघरमा विशेष परिकारहरू तयार गरिन्छ। विशेषगरी अघिल्लो दिन पकाएको भात (बासी भात), दही, चटनी तथा तरकारी खाने परम्परा रहेको छ, जसले गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्ने विश्वास गरिन्छ।

संस्कृति संरक्षणका दृष्टिले महत्वपूर्ण मानिने यो पर्वले परिवारबीच आपसी प्रेम, सम्मान र सद्भाव बढाउने काम समेत गर्ने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?