हप्तामा ३ दिन पढाइ, ४ दिन श्रम: हर्क साम्पाङको नयाँ प्रस्ताव

२०८३ बैशाख ८, मंगलवार १७:३०

काठमाडौँ — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले नेपाल सरकारलाई ३३ बुँदे सुझाव सार्वजनिक गरेको छ। देशको शिक्षा, अर्थतन्त्र, सुशासन र कृषि क्षेत्र सुधार गर्ने उद्देश्यसहित यी सुझाव प्रस्तुत गरिएको बताइएको छ।

सुझावको मुख्य आकर्षण शिक्षा प्रणालीमा देखिएको छ। पार्टीले हप्ताको ३ दिन सैद्धान्तिक अध्ययन र बाँकी ४ दिन श्रम, सीप, सिर्जना, उत्पादन र आविष्कारमा केन्द्रित हुनुपर्ने प्रस्ताव अघि सारेको छ। यसले विद्यार्थीलाई व्यवहारिक र आत्मनिर्भर बनाउने विश्वास लिइएको छ।

त्यसैगरी, पार्टीले एमसीसी र एसपीपीजस्ता सैन्य रणनीतिक सम्झौताहरू नगर्न सरकारलाई आग्रह गरेको छ। राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितलाई ध्यानमा राख्दै यस्ता सम्झौताबाट टाढा रहनुपर्ने धारणा राखिएको छ।

आर्थिक पक्षतर्फ, नुन, तेल र पेट्रोलियम पदार्थजस्ता आधारभूत वस्तुको मूल्य सामान्य र सर्वसुलभ बनाइ राख्नुपर्ने सुझाव दिइएको छ। साथै, सहकारी पीडितहरूको बचत सञ्चालकको सम्पत्तिबाट फिर्ता गरिनुपर्ने माग पनि समेटिएको छ।

रोजगारी सृजनामा ‘एक परिवार, एक रोजगार’ नीति लागू गर्नुपर्ने, धनी मात्र होइन गरिबले पनि देश आफ्नो हो भन्ने अनुभूति हुने वातावरण बनाउनुपर्ने जस्ता बुँदाहरू पनि समावेश छन्।

सुशासनतर्फ, स्रोतविनाको सम्पत्ति राष्ट्रियकरण गर्ने, काम नगर्ने र भ्रष्ट कर्मचारीलाई बर्खास्त गर्ने कडा कानुन बनाइनुपर्ने प्रस्ताव गरिएको छ।

कृषि क्षेत्र सुधारका लागि कृषि क्रान्तिलाई खेतबारी र गाउँघरसम्म पुर्‍याउनुपर्नेमा जोड दिइएको छ, जसले उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

श्रम संस्कृति पार्टीका अनुसार यी सुझावहरू कार्यान्वयन भए देशको समग्र विकास र जनताको जीवनस्तर सुधारमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?