मटिहानीमा टोल विकास संस्थाका पदाधिकारीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२०८३ बैशाख ११, शुक्रबार २२:३९

मो. इर्शाद , जलेश्वर  : मटिहानी, महोत्तरीको मटिहानीमा टोल विकास संस्थाहरूको प्रभावकारिता बढाउने उद्देश्यका साथ एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘शान्त र समावेशी समुदायका लागि सशक्तीकरण’ भन्ने मुख्य नाराका साथ आयोजित उक्त कार्यक्रमले स्थानीय विकासमा नागरिक सहभागितालाई जोड दिएको छ ।

​मटिहानीस्थित श्री राम माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा नवगठित तीनवटा टोल विकास संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

​कार्यक्रममा मटिहानी नगरपालिकाका विभिन्न वडाका पदाधिकारीहरूको उपस्थिति थियो:
कार्यक्रममा सहभागी तीनवटा टोल विकास संस्थाहरू यस प्रकार छन् : ​डिहिबार टोल विकास संस्था (वडा नं. ९, बहुअर्वा टोल)
​बरदाहा टोल विकास संस्था (वडा नं. २, बरदाहा टोल)
​भगवती टोल विकास संस्था (वडा नं. ६, भगवती टोल)

​सपोर्ट नेपाल (SUPPORT NEPAL) को आयोजना तथा KURVE Wustrow को सहयोगमा सञ्चालन भएको यस कार्यक्रमको मुख्य उद्देश्य नवगठित संस्थाहरूलाई संस्थागत रूपमा बलियो बनाउनु रहेको थियो । कार्यक्रममा ४० जना पदाधिकारीहरूलाई संस्था सञ्चालन गर्ने कानुनी प्रक्रिया, योजना तर्जुमा गर्ने विधि र स्थानीय विकासमा टोल विकास संस्थाको भूमिकाका बारेमा विस्तृत प्रशिक्षण दिइएको थियो ।

​कार्यक्रममा सपोर्ट नेपालका सल्लाहकार रोशना खड्का, धनुषा संयोजक शत्रुधन महतो र महोत्तरी संयोजक प्रकाश ठाकुर लगायतको उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले टोल स्तरबाटै विकासका योजनाहरू छनोट गरी कार्यान्वयनमा लैजान सके मात्र वास्तविक रूपमा समुदायको सशक्तीकरण हुने धारणा व्यक्त गर्नुभयो ।
​स्थानीय स्तरमा सुशासन र विकासका लागि टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण हुने विश्वासका साथ कार्यक्रम समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?