सर्लाही,३१ जेठ l सतिबिहुलाधाममा यस वर्षको मलमास (पुरुषोत्तम मास) मेला आगामी जेठ ३ गतेदेखि भव्य रूपमा आयोजना हुने भएको छ । संग्रामपुरस्थित पर्सा गाउँपालिका–२ मा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सतिबिहुलाधाममा एक महिनासम्म सञ्चालन हुने मेलाको तयारी तीव्र पारिएको मेला व्यवस्थापन समिति तथा स्थानीयवासीले जनाएका छन्।
मिथिला क्षेत्रकै प्राचीन धार्मिक आस्थाको केन्द्र मानिने सतिबिहुलाधाममा प्रत्येक मलमासमा विशेष पूजाआजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमसहित मेला लाग्ने परम्परा रहिआएको छ । यस वर्ष पनि हजारौं श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको आयोजकले बताएका छन्।
पर्सा गाउँपालिका–२ संग्रामपुरका वडा अध्यक्ष राकेश रामका अनुसार मेलाको उद्घाटनका अवसरमा जेठ ३ गते भव्य कलश यात्रा निकालिनेछ। विभिन्न धार्मिक विधि र वैदिक मन्त्रोच्चारणसहित आयोजना हुने कलश यात्रामा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।
उनले यस वर्षको मेला थप व्यवस्थित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सञ्चालन गरिने जानकारी दिँदै सम्पूर्ण नगरवासी तथा श्रद्धालुभक्तजनलाई मेला अवलोकन गर्न र कलश यात्रामा सहभागी हुन आग्रह गरेका छन्।
धार्मिक विश्वासअनुसार मलमासमा सतिबिहुलाधामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने, वैवाहिक जीवन सुखमय हुने, श्रीमानको आयु दीर्घ हुने तथा अक्षय पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। यही आस्थाका कारण नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालु भक्तजन यहाँ पुग्ने गर्दछन्।
मेलामा मिथिलाको मौलिक संस्कृति झल्काउने भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति, धार्मिक प्रवचन तथा लोकनृत्य प्रस्तुत गरिने जनाइएको छ। साथै बालबालिकाका लागि पिङ, झुला, सर्कस, विभिन्न व्यापारिक स्टल, स्थानीय परिकार तथा मिथिलाको प्रसिद्ध हाटबजारसमेत मेलाको मुख्य आकर्षण रहनेछन्।
सतिबिहुलाधाम केवल धार्मिक स्थल मात्र नभई मिथिलाको ऐतिहासिक गौरव र लोककथासँग जोडिएको पवित्र भूमि पनि हो। यहाँ सतिबिहुलासँग सम्बन्धित प्राचीन किंवदन्ती जोडिएको छ। जनविश्वासअनुसार सतिबिहुलाले आफ्ना पति जीवनदानका लागि स्वर्गका देवतासम्म पुगेर संघर्ष गरेकी थिइन्। पति प्रतिको समर्पण, प्रेम र अटल विश्वासको प्रतीकका रूपमा हेरिने यो कथा मिथिला संस्कृतिमा आज पनि अत्यन्त श्रद्धापूर्वक सुनाइने गरिन्छ।
यही धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक वैभवका कारण सतिबिहुलाधामको मलमास मेलामा श्रद्धालु र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।






