जनकपुरधाम: महोत्तरीको एकडारा गाउँपालिकामा स्थानीय विकास, युवा सहभागिता र सुशासनका सवालमा केन्द्रित रही एक विशेष सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। एकडारा गाउँपालिका वडा नम्बर २, बेलास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा आइतबार ‘आम समुदाय तथा युवा वर्गसँग सार्वजनिक सुनुवाइ’ कार्यक्रम सम्पन्न भएको हो।
लोक कल्याण परियोजना, एकडाराको आयोजना तथा एकडारा गाउँपालिका वडा नम्बर २ को सहयोगमा चालू आर्थिक वर्ष २०८२/०८३ को लक्षित कार्यक्रम अन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी युवा तथा स्थानीय सर्वसाधारणले वडाको विकास बजेट, शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारका क्षेत्रमा भइरहेका प्रयासहरूबारे सरोकारवालाहरूसँग प्रत्यक्ष प्रश्न राखेका थिए।
जनताका जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै वडा अध्यक्ष सखीचन्द्र यादवले स्थानीय स्तरमा सुशासन कायम गर्न र योजनाहरूलाई थप पारदर्शी एवं समुदायमुखी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले कार्यक्रममा प्राप्त रचनात्मक सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा समेट्दै लैजाने प्रतिबद्धतासमेत जनाउनुभयो।
वडा अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सुरुवाती चरणमा ज्ञात–अज्ञात वीर शहीदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो। तत्पश्चात राष्ट्रिय गानको धुनसँगै कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाइएको थियो।
कार्यक्रममा आमन्त्रित अतिथिहरूलाई माला तथा गम्छा ओढाएर स्वागत गरिएको थियो भने स्वागत मन्तव्य काजल नागवंशीले राख्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा ठूलो संख्यामा युवा एवं आम सर्वसाधारणको उपस्थिति रहेको थियो।






