सेभ द चिल्ड्रेन, रतौली युवा क्लब र पिपरा गाउँपालिकाको समन्वयमा बाल भेला सम्पन्न

२०८३ जेष्ठ ९, शनिबार ०४:२२

महोत्तरी : बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै स्थानीय योजना निर्माण प्रक्रियामा उनीहरूको आवाज समेट्ने उद्देश्यले पिपरा गाउँपालिकास्तरीय बाल भेला सम्पन्न गरिएको छ। कार्यक्रम शुक्रबार पिपरा गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो।

सेभ द चिल्ड्रेन, रतौली युवा क्लब तथा पिपरा गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा बालबालिकाको सहभागिता रहेको थियो।

बाल भेलामा सहभागी बालबालिकाहरूले विद्यालय तथा सार्वजनिक स्थलमा आवश्यक पूर्वाधार र बालमैत्री वातावरण निर्माणका लागि विभिन्न योजना तथा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले विद्यालय र चोकहरूमा जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने, विद्यालय नजिक रहेका पोखरीहरूमा घेराबेरा गर्नुपर्ने, विद्यालय आसपासका सडकहरूमा लोगो सहित धूम्रपान तथा लागू पदार्थ निषेध क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका थिए।

त्यसैगरी विद्यालय क्षेत्रलाई ध्वनिमुक्त तथा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, मावि पिपरामा जडान गरिएका पंखाहरू सञ्चालनमा ल्याउनुपर्ने, विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, पुस्तकालय तथा कम्प्युटरको पहुँच बढाउनुपर्ने, बालबालिकाको पहुँचमा खानेपानीका धारा जडान गर्नुपर्ने तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गर्नुपर्ने मागसमेत बालबालिकाले राखेका थिए।

रेडियो अप्पन मिथिलाका पत्रकार इर्शादले कार्यक्रममा विद्यालयमा बालबालिकाले सामना गरिरहेका विविध समस्याहरू प्रस्तुत गर्दै भने, “यदि क्लवले पालिकासँग समन्वय गरेर काम नगरेको भए अहिले शिक्षाको अवस्था के हुन्थियो भन्ने कुरा हामीले कल्पना पनि गर्न सक्दैनौँ।”

त्यस्तै वडा नं. ६ का अध्यक्ष अरुण पुर्वेले बालबालिकालाई लागू पदार्थको दुव्र्यसनबाट टाढा राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि अभिभावक र समुदायको भूमिका महत्वपूर्ण रहने बताए।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रले बालश्रमविरुद्ध सचेतना आवश्यक रहेको उल्लेख गर्दै भने, १४ वर्ष नपुग्दासम्म बालबालिकाले श्रम गर्नु हुँदैन। उनले आधारभूत तहसम्मको शिक्षा निःशुल्क रहेको जानकारी दिँदै बालबालिकाले उठाएका योजनाबारे गाउँपालिकाले आवश्यक छलफल गरी समस्या समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक वैधनाथ चौधरी, पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र, शिक्षा शाखा प्रमुख तथा पिपरा गाउँपालिका वडा नं. १, ३ र ६ का वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा पिपरा बाल सञ्जालकी अध्यक्ष जागृति चौधरीले स्वागत मन्तव्य राख्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?