पोखरेलीले पाँच दशकअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा भएको छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन् । उद्घाटनका दिन हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने भए पनि अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्नेछ । अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएको खुसीमा बिदा दिइएको यो सम्भवतः पहिलो पटक हो । उद्घाटन समारोहमा स्थानीयको व्यापक सहभागिताका लागि महानगरका कर्मचारी, शिक्षकलगायत सबैलाई अनिवार्य उपस्थितिको आह्वान गरिएको छ । पुरानो विमानस्थलदेखि तीन किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो ।





