जनकपुरधाममा ‘एआई फर मोडर्न जर्नलिज्म’ कार्यशाला सम्पन्न

२०८३ जेष्ठ ९, शनिबार २१:००

जनकपुरधाम, ०९ जेठ ।परम्परागत पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न भएको छ । Nexalaris Tech, नेपाल पत्रकार महासंघ धनुषा शाखा र भूमिजा फाउन्डेसन को संयुक्त आयोजनामा ‘एआई फर मोडर्न जर्नलिज्म (AI for Modern Journalism) नामक कार्यशाला शनिबार सम्पन्न भएको हो ।

आसमान नेपाल को प्रायोजनमा होटल जनकपुर इन मा आयोजित उक्त कार्यशालामा स्थानीय तथा क्षेत्रीय सञ्चारमाध्यममा आबद्ध सक्रिय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्मार्ट लेखौँ, छिटो प्रमाणीकरण गरौँ, राम्रो रिपोर्ट गरौँ (Write Smarter, Verify Faster, Report Better) भन्ने नारासहित सञ्चालन गरिएको कार्यशालामा पत्रकारहरूलाई डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) उपकरणहरूको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिइएको थियो ।

कार्यशालामा विशेष गरी एआईमार्फत समाचार लेखन तथा सम्पादन, अडियो ट्रान्सक्रिप्सन र अनुवाद, बिना कोडिङ डाटा जर्नलिज्म, तथ्य जाँच तथा मिडिया फरेन्सिक लगायतका विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो । साथै सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना तथा ‘फेक न्यूज’ पहिचान र प्रमाणीकरण गर्ने विधिबारे समेत जानकारी दिइएको थियो ।

त्यसैगरी पत्रकारिताको संवेदनशीलतालाई ध्यानमा राख्दै एआईको जिम्मेवार, नैतिक तथा प्रभावकारी प्रयोगबारे पनि छलफल गरिएको थियो ।

परिवर्तित समयसँगै मिडिया क्षेत्रमा भित्रिएका नयाँ प्रविधिलाई आत्मसात नगरे पत्रकारिता पछि पर्ने भन्दै आयोजकहरूले यस कार्यशालाले मधेश प्रदेशको पत्रकारिता क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।

सीमित ३० जना सहभागीका लागि डिजाइन गरिएको विशेष सेसनमा सहभागी पत्रकारहरूले एआईको प्रयोगले कार्यबोझ घटाउन, समाचारलाई छिटो तथा प्रभावकारी बनाउन र खोजमूलक पत्रकारितालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताएका थिए ।

एक सहभागी पत्रकारले भने, यस्ता कार्यक्रमले हामीलाई धेरै नयाँ कुरा सिक्ने अवसर दिएको छ । आगामी दिनमा पनि यस्ता तालिमहरू सञ्चालन हुनुपर्छ, जसले पत्रकारिताको कामलाई अझ सहज र छिटो बनाउन मद्दत गर्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषा का अध्यक्ष  पुरण शाह को समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले पत्रकारहरू एआईसम्बन्धी तालिममा उत्साहपूर्वक सहभागी भएको देख्दा खुशी लागेको बताए ।

उनले भने, सक्रिय पत्रकारहरू यस तालिममा सहभागी भएर एआई सम्बन्धी नयाँ सीप सिक्नुभएको छ । आगामी दिनमा पनि यस्ता थप एआईसम्बन्धी तालिमहरू सञ्चालन गर्ने योजना छ, जसले पत्रकारितालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग गर्नेछ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?