२४ घण्टामा ४ लाख ७९ हजार राजस्व संकलन, एक हजार ८४१ सवारी ट्राफिक कारबाहीमा

२०८३ जेष्ठ १०, आईतवार १३:१४

काठमाडौं, उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको विशेष जाँच अभियानका क्रममा एक हजार ८४१ जना सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ४ लाख ७९ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने १०७ जना चालकलाई कारबाही गरिएको छ।

त्यसैगरी राइड सेयरिङमा १९२,रातोबत्ती उल्लंघन गर्ने १८३, तीव्र गतिमा सवारी चलाउने १२६, लेनक्रस गर्ने ४१, फुटपाथ प्रयोग गर्ने ७५, हर्न निषेध उल्लंघन गर्ने १४९, एकतर्फी सडकमा सवारी चलाउने ७७ तथा अन्य विभिन्न कसुरमा ८९१ जना चालक कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएकाले यस्ता गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?