३ सय किलो गाँजासहित २ पक्राउ

२०७९ पुष १८, सोमबार १६:१५

काठमाडौं । प्रहरीले मोरङको रंगेलीबाट ३०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो साढे ४ बजे रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो ।गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो ४:३० बजेतिर गाँजा फेला परेको हो ।प्रहरीले गाँजासहित ४२ वर्षीय राजवंशी र धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरेको छ ।राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?