कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी, आधाभन्दा बढी उत्तरपुस्तिका परीक्षण सम्पन्न

२०८३ जेष्ठ १३, बुधबार १३:०३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित कार्य हालसम्म ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले उत्तरपुस्तिका परीक्षणको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म आधाभन्दा बढी उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने परीक्षण गरिएका कापीहरूको सम्परीक्षण प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ।

बोर्डले यस वर्ष परीक्षा सम्पन्न भएकै दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो। विगतका वर्षमा देखिने ढिलाइ कम गर्दै समयमै नतिजा सार्वजनिक गर्ने उद्देश्यसहित प्रारम्भदेखि नै परीक्षण कार्यलाई व्यवस्थित र छिटो बनाइएको बोर्डको भनाइ छ।

देशभर सञ्चालनमा रहेका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तरपुस्तिका जाँच भइरहेको छ। बोर्डका अनुसार हजारौँ शिक्षक तथा जनशक्ति परीक्षण कार्यमा खटिएका छन्।

यसपटक कक्षा १२ को परीक्षा देशभरका विभिन्न परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। बोर्डले नतिजा प्रकाशनमा पारदर्शिता र विश्वसनीयता कायम गर्न सम्परीक्षण, डेटा इन्ट्री तथा प्राविधिक परीक्षणलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।

विद्यार्थी तथा अभिभावकहरू नतिजाको प्रतीक्षामा रहेका बेला बोर्डले तोकिएको समयमै नतिजा सार्वजनिक गर्न सबै संयन्त्र परिचालन गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?