बुधबार साँझ बालुवाटार बसेको सत्तागठबन्धनको बैठकमा विभिन्न विषयमा घनीभूत छलफल भयो । बैठकमा न्यूनतम साझा कार्यक्रम ल्याउनेदेखि मन्त्रालय फुटाउने चर्चा चलेको विषयमा छलफल l यी भए गठबन्धनले अहिले नगरी नहुने कामहरु । तर, यी मुद्धाभन्दा अन्य सवालमा पनि गठबन्धनको बैठकमा छलफल भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धनको बैठकमा पुस २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मानिनुपर्नेलगायतका बुँदागत प्रस्ताव तथा मागहरु पनि पेश गरेका थिए । उनले यसअघि देखि नै पुस २७ गते पृथ्वी जयन्ती दिवसमा राष्ट्रिय एकता दिवस दिनुपर्ने भन्दै पार्टी र सार्वजनिक कार्यक्रममा धारणा राख्दै आएका छन् । अध्यक्ष लिङ्देनले पेश गरेको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले ‘ग्रिन सिग्नल’ दिएको बैठक सकिएपछि सञ्चारकर्मीसँग अध्यक्ष लिङ्देनले भनेका छन् ।यसैगरी बैठकमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई विभिन्न दललाई समावेश गर्न र उनीहरुको चित्त बुझाउन मन्त्रालय नै फुटाउन लागेको भन्ने बाहिर आएको विषयमा पनि आपत्ति जनाए । उनले गठबन्धनलाई भागबन्डा मिलाउन मन्त्रालय फुटाउदा बाहिर जनतामा गलत सन्देश जाने भन्दै त्यसो नगर्न पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।





