नेपाल टी-२० लिगबारे सीआईबीले थाल्यो अनुसन्धान

२०७९ पुष २०, बुधबार १८:२५

२० पुस, काठमाडौं । नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो । त्यही आधारमा छानबिन थालिएको सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयमा विवरणहरु सार्वजनिक भएसँगै सीआईबीले यसमा चासो देखाएको थियो । गृह र प्रहरी प्रधान कार्यालयबाट पत्राचार नै भएपछि छुट्टै टोली गठन गरेर अनुसन्धान सुरु भएको छ ।

काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको बताएका थिए । प्रतियोगिताका कमेन्टेटटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।

तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुले बाहिर सार्वजनिकरुपमा बोल्ने खेलाडी र अफिसियलहरुबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् ।सीआईबीले औपचारिकरुपमा अनुसन्धान सुरु गरेकै दिन नेपाल क्रिकेट संघ (क्यान) ले पनि जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको छ । क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी यस्ता मिथ्या र भ्रामक सूचना नफैलाउन पनि भनेको छ ।

जारी खेलमा बेटिङसमेत भइरहेको छ । अनलाइन बेटिङका लागि चर्चित एप वानएक्सवेटले यसमा सट्टेबाजी गराइरहेको छ । सट्टेबाजीमा संलग्न कम्तिमा ४० जनालाई सीआईबीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?