संसद्‍मा १८ मिनेट मात्रै बसेर हिँडे प्रधानमन्त्री बालेन

२०८३ असार ३०, मंगलवार १७:२७

काठमाडौं। प्रधानमन्त्री बालेन शाह मंगलबार संघीय संसद्‍को बैठकमा आधा घण्टा पनि नबसी बाहिरिएका छन्। संसद्‍मा विपक्षी दलहरूको तीव्र विरोध र आक्रामक प्रस्तुतिबीच प्रधानमन्त्री शाह करिव २० मिनेटपछि हलमा बिताएर फर्किएका हुन्।

मंगलबार दिउँसो १ बजेर ३७ मिनेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री शाह ठीक १ बजेर ५५ मिनेटमा त्यहाँबाट हिँडेका थिए। संसद्‍ छिर्नुअघि प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच करिब ५ मिनेट गोप्य वार्ता समेत भएको थियो।

प्रधानमन्त्री संसद्‍मा प्रवेश गरेसँगै विपक्षी सांसदहरू थप आक्रामक रूपमा प्रस्तुत भएका थिए। पछिल्लो समय सञ्चारमाध्यमका कार्यालयहरू लगायतका संवेदनशील क्षेत्रमा सरकार संरक्षित व्यक्तिहरूले गाडी तेर्स्याएर अवरोध सिर्जना गरेको भन्दै प्रतिपक्षी दलहरूले सरकारको कडा आलोचना गरिरहेका छन्।

संसद्‍ बैठकमा प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री शाहकै सामुन्ने उक्त घटनालाई लिएर चर्को विरोध जनाएका थिए। नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि सरकारकै आडमा प्रहार भएको भन्दै उनीहरूले प्रधानमन्त्रीसँग जवाफ माग गरे।

प्रतिपक्षी सांसदहरूको आरोप: “सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर तर्साउने काम लोकतान्त्रिक अभ्यास विपरीत हो। सरकार संरक्षित मान्छेहरूबाटै यस्ता अराजक गतिविधि हुनु निन्दनीय छ।”

रास्वपा सभापति लामिछानेसँगको गोप्य परामर्श र संसद्‍भित्र विपक्षीको चर्को नाराबाजी तथा आलोचनाका बीच प्रधानमन्त्री शाह बैठकमा जम्मा १८ मिनेट मात्र बसेर बाहिरिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। संसद्‍मा उठेका गम्भीर सवालहरूको सामना गर्नुको साटो प्रधानमन्त्री हतार-हतार बाहिरिएपछि विपक्षीहरूले सरकार गैरजिम्मेवार बनेको आरोप समेत लगाएका छन्।

प्रेस स्वतन्त्रता र सरकारी शैलीलाई लिएर चौतर्फी दबाबमा परेका प्रधानमन्त्री शाहको यो कदमले सत्ता साझेदार दलहरू र विपक्षीबीचको दुरी अझ बढाउने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?