आत्मदाहका घटना बढ्नु चिन्ताजनक, सुशासनसँगै मानसिक स्वास्थ्यलाई राष्ट्रिय एजेन्डा बनाइयोस् : रिमा विश्वकर्मा

२०८३ असार ३०, मंगलवार १७:३१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर शृङ्खलाबद्ध रूपमा भइरहेका आत्मदाहका प्रयास र घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकको मानसिक स्वास्थ्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका दर्दनाक घटनाहरूले नागरिकको मानसिक स्वास्थ्यको अवस्थासँगै राज्यको नीति निर्माण प्रक्रियामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको बताइन्।

सदनमा बोल्दै सांसद विश्वकर्माले नीति सुधारको नाममा सरकारले हतारमा निर्णय गरिरहेको हो कि भन्ने आशंका व्यक्त गरिन्। हतारमा बनाइने कानुन र नीतिको प्रत्यक्ष मार सर्वसाधारण नागरिकमाथि परिरहेको हुन सक्ने औंल्याउँदै उनले सरकारलाई संवेदनशील बन्न आग्रह गरिन्।

“नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन? जसका लागि कानुन बनाउँदै छौँ, कतै उनीहरू नै मारमा त परिरहेका छैनन्? कि साँचै नागरिकले आफ्नो पीडा सुनाउन र न्याय पाउनका लागि यस्तो आत्मघाती कदम चाल्नुपर्ने विवशता सिर्जना भएको हो? यसमा सरकार गम्भीर हुनुपर्छ,” उनले भनिन्।

वर्तमान सरकारले सुशासनलाई आफ्नो मुख्य प्राथमिकता दाबी गरिरहेको सन्दर्भ जोड्दै सांसद विश्वकर्माले अब सुशासनको बहससँगै नागरिकको मानसिक स्वास्थ्यलाई पनि राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याइन्।

राजनीतिक दायित्व पूरा गर्ने होडले मात्र नपुग्ने भन्दै उनले राज्य सञ्चालकहरूले आफ्नो सामाजिक र नैतिक जिम्मेवारीलाई समेत उत्तिकै संवेदनशीलताका साथ आत्मसात् गर्नुपर्नेमा जोड दिइन्।

सम्बोधनका क्रममा उनले हालैका दिनमा आत्मदाहका कारण ज्यान गुमाएका गणेश नेपाली, विवेक मण्डल र अस्विन राउतप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?