चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार र पूर्व एसएसपीसहित तीनजना पक्राउ

२०८३ श्रावण ६, बुधबार १६:४९

काठमाडौँ । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई कानुनी प्रक्रिया छलेर छुटाइदिने र राहदानी फिर्ता गराइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा चर्चित हास्य कलाकार र सशस्त्र प्रहरी बलका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अध्यागमन विभाग कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानी झिकाइदिने भन्दै रकम असुल्ने कार्यमा संलग्न उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने अभियुक्तहरूको विवरण:

१. नारदप्रसाद खतिवडा (५२ वर्ष): काठमाडौँ महानगरपालिका–१० बुद्धनगर बस्ने (स्थायी घर: सर्लाही, लालबन्दी नगरपालिका–५) – हास्य कलाकार

२. गोपालकुमार गुरूङ (५९ वर्ष): ललितपुर नख्खीपोट बस्ने (स्थायी घर: नवलपरासी पश्चिम, सुनवल नगरपालिका–७, तर्गौली) – सशस्त्र प्रहरीका पूर्व एसएसपी

३. विक्रमबहादुर थापा (३८ वर्ष): ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने (स्थायी घर: उदयपुर, कटारी नगरपालिका–८, सिरिसे)

प्रहरीका अनुसार अभियुक्तहरूले हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छाड्ने वातावरण मिलाइदिने भन्दै कुल ७२ लाख रुपैयाँभन्दा बढीको सम्झौता (डिल) गरी पेश्की स्वरूप ९ लाख रुपैयाँ असुलिसकेका थिए। रकम लिएर पनि काम नगरिदिएको भन्दै परेको पीडितको उजुरीका आधारमा सूक्ष्म अनुसन्धान अघि बढाएर उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य कुनै प्रशासनिक अधिकारी वा बिचौलियाहरूको संलग्नता भए/नभएको विषयमा पनि प्रहरीले गहन छानबिन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?