रौतहट। रौतहटको गुजरा नगरपालिका–४, कनकपुरका युवा अभियन्ता अब्दुल सलाम पछिल्ला केही वर्षयता सामाजिक परिवर्तन, युवा सशक्तीकरण र सुशासनका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका छन्। बाल क्लबबाट सामाजिक यात्राको सुरुवात गरेका उनी विगत सात वर्षदेखि विभिन्न सामाजिक अभियान र जनचासोका विषयमा अग्रसर छन्।
हाल गुजरा नगर युवा क्लबका अध्यक्ष रहेका सलामको नेतृत्वमा क्लबले युवा नेतृत्व विकास, शिक्षा, स्वास्थ्य, लागूऔषध दुव्र्यसन नियन्त्रण, जलवायु परिवर्तन, लैङ्गिक समानता तथा सामाजिक न्यायका विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम, तालिम र कार्यशाला सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमले स्थानीय युवाहरूलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको दायित्वबोध बढाउन सहयोग पुर्याएको बताइन्छ।
सामाजिक अभियानसँगै उनी विभिन्न युवा तथा नागरिक संस्थासँग सहकार्य गर्दै नेतृत्व विकास, व्यक्तिगत क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिमा पनि सक्रिय छन्। युवाहरूलाई संगठित गर्ने, समुदायमा रचनात्मक बहसको वातावरण बनाउने र स्थानीय समस्याको समाधानका लागि पहल गर्ने कार्यमा उनको सक्रियता उल्लेखनीय मानिन्छ।
हालै गुजरा नगरपालिकामा युवा, किसान, नगर अस्पताल सञ्चालन, पारदर्शिता र सुशासनका विषयलाई केन्द्रमा राखेर सञ्चालन गरिएको आन्दोलनमा पनि सलामको सक्रिय भूमिका देखिएको थियो। आन्दोलनले स्थानीय तहमा जनचासोका मुद्दाप्रति व्यापक बहस सिर्जना गर्नुका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको सहभागीहरूको भनाइ छ।
समाजका सीमान्तकृत समुदायका आवाजलाई सशक्त बनाउने, अवसरबाट पछाडि परेका युवालाई नेतृत्वमा अघि ल्याउने र सामूहिक सहभागितामार्फत सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ सलाम आफ्नो अभियानमा निरन्तर सक्रिय छन्।
स्थानीय स्तरबाट सुरु भएको उनको सामाजिक यात्रा अहिले युवा नेतृत्व र नागरिक उत्तरदायित्वको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। सामाजिक रूपान्तरणप्रतिको प्रतिबद्धता, समुदायसँगको निरन्तर सहकार्य र सुशासनका पक्षमा उनको सक्रिय भूमिकाले उनी आगामी दिनमा अझ प्रभावकारी युवा नेतृत्वका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।







