सप्तरीका सञ्चारकर्मीले गरे वन क्षेत्रको अनुगमन

२०८३ श्रावण ९, शनिबार १८:३४

चन्दन रजक डिभिजन वन कार्यालय सप्तरीले जिल्लाका सञ्चारकर्मीलाई वन क्षेत्रको अनुगमन गराएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न विकास योजना तथा नियमित गतिविधिको जानकारी दिन कार्यालयले फतेपुर आसपासको वन क्षेत्रमा सञ्चारकर्मीको टोलीलाई अवलोकन गराएको हो।

डिभिजन वन अधिकृत सुभाष चन्द्र दासका अनुसार फतेपुर क्षेत्रमा पार्क, ट्रीहाउस, पोखरी, गोलघर लगायतका पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेका छन्। ती संरचनाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन थालेको उहाँले बताउनुभयो। साथै, क्षेत्रको हरियाली र वातावरण संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।

उनले सञ्चारकर्मीलाई वन अतिक्रमण, काठ तस्करी नियन्त्रण तथा मुद्दा प्रक्रियामा रहेका विषयबारे समेत विस्तृत जानकारी गराएका थिए। अतिक्रमण हटाउने अभियान र त्यससँग सम्बन्धित समस्या समाधानका उपायबारे समेत छलफल गरिएको थियो।

अवलोकन टोलीमा डिभिजन वन प्रमुख दाससहितका अधिकारी, कर्मचारी र जिल्लाका सञ्चारकर्मी सहभागी थिए। अनुगमन भ्रमणबाट सञ्चारकर्मीले जिल्लामा भइरहेको वन संरक्षण प्रयासबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?