ADVERTISEMENT

स्थानीय तहको निर्वाचन दलीय प्रभावमुक्त बनाउन गैरदलीय निर्वाचन अभियानको माग

२०८३ कार्तिक ९, आईतवार १२:४५

सिरहा — गैरदलीय स्थानीय निर्वाचन अभियानले स्थानीय तहको निर्वाचनलाई दलीय प्रभावबाट मुक्त बनाउन माग गरेको छ।

शनिबार सिरहा सदरमुकामस्थित सिरहा पुस्तकालयमा आयोजित बहस कार्यक्रममा अभियानले स्थानीय निर्वाचनमा राजनीतिक दलबीचको प्रत्यक्ष प्रतिस्पर्धा अन्त्य गरी स्थानीय सरकारलाई विकास निर्माण र जनसेवामा केन्द्रित गर्नुपर्नेमा जोड दिएको हो।

अभियानका अनुसार स्थानीय तहमा दलीय प्रतिस्पर्धाका कारण समाजमा राजनीतिक विभाजन, असहिष्णुता र द्वन्द्व बढ्ने गरेको छ। निर्वाचनका बेला देखिने पार्टीगत ध्रुवीकरणले सामाजिक सद्भावमा असर पार्नुका साथै विकास निर्माणका कामसमेत राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रभावित हुने गरेको अभियानले जनाएको छ।

बहुदलीय संसदीय व्यवस्थामा राजनीतिक दलको भूमिका महत्त्वपूर्ण रहे पनि स्थानीय तहलाई दलीय शक्ति प्रदर्शनको थलो बनाउन नहुने अभियानको तर्क छ। स्थानीय सरकारलाई जनताको आवश्यकता सम्बोधन गर्ने, विकास निर्माणलाई प्राथमिकता दिने र प्रभावकारी जनसेवा प्रदान गर्ने निकायका रूपमा स्थापित गर्न गैरदलीय स्थानीय निर्वाचन आवश्यक रहेको अभियानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?