जनकपुरधाम l राजर्षिजनक विश्वविद्यालयले ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’मार्फत विद्यार्थीलाई अनाइनबाटै सेवा दिने भएको छ।
विश्वविद्यालयको १०औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डालाई सार्वजनिक गरेको छ। कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. श्याम नारायण लाभले विश्वविद्यालयलाई गतिशील बनाउने एजेन्डालाई प्राथमिकतामा राखिएको बताए।
त्यस्तै, शुभकामना मन्तव्य राख्दै रजिस्ट्रार डा. जीवन काफ्लेले विश्वविद्यालयको प्रशासनिक, प्राज्ञिक र भौतिक सुधारका विषयलाई प्राथमिकता राखिएको बताए।
विश्वविद्यालयले शैक्षिक, प्रशासनिक, परीक्षा र लेखा प्रणालीलाई पूर्ण रूपमा ‘सिकाइ व्यवस्थापन प्रणाली’ र एकीकृत डिजिटल नेटवर्कअन्तर्गत ‘सेन्ट्रलाइज्ड’ प्रणालीमा लैजाने जनाएको छ। यसले विद्यार्थीलाई अनलाइनमार्फत नै सेवा लिन सहज बनाउनेछ।
यस्तै, स्कुल अफ हेल्थ साइन्सको प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधारको निर्माणलाई तीव्र गति दिने र प्रयोगशालालाई प्रविधिमैत्री बनाउनेमा जोड दिइएको छ।
मधेश प्रदेश र बजार मागअनुसार नैतिकवान, प्राविधिक र नवप्रवर्तनकारी जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा समयानुकूल सुधार गर्ने तथा विश्वविद्यालयभित्र हुने प्रशासनिक ढिलासुस्ती र बेथितिलाई अन्त्य गरी चुस्त कार्यशैली अपनाउने पनि जनाइएको छ।
वार्षिकोत्सव समारोहमा विश्वविद्यालयका डिन, प्राध्यापक, कर्मचारी र विद्यार्थी उपस्थित रहेका थिए।







