भदौ ५ गत्ते,काठमाडौँ ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । नेता प्रदीप गिरिको संस्कार आजै गरिने भएको छ ।
अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो । गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पंकज वर्मनका अनुसार शनिबार राती ९.३० बजे उनको निधन भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले शोक वक्तव्य जारी गर्दै गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिने जानकारी दिएको हो । त्यस्तै उनको पार्थिव शरीरलाई बिहान साढे ११ बजे देखि २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।उक्त कार्यक्रमपछि अन्तेष्ठिका लागि पशुपति आर्यघाटमा लगिने उनले बताएका छन् ।
करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउनेक्रम चलिरहेको थियो ।
यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।
सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेपनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई अन्य राजनीतिक दर्शन अबलम्बन गर्नेहरुले पनि उत्तिकै सम्मान गर्छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन् ।
गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।
२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गरी ०५६ चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदकोरुपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरीले ०७४ मा भने प्रत्यक्षतर्फ नै चुनाव जितेका थिए । तर पटक पटक सांसद बनेका गिरी मन्त्री भने बनेनन्, मन्त्री बन्न लालायित भएनन् ।
अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले शोक वक्तव्य जारी गर्दै गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिने जानकारी दिएको हो । त्यस्तै उनको पार्थिव शरीरलाई बिहान साढे ११ बजे देखि २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।उक्त कार्यक्रमपछि दाह संस्कारका लागि पशुपति आर्यघाटमा लगिने उनले बताएका छन् ।
उनको निधनले मुलुकले अपुरणीय क्षति व्योहोरेको कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले नेता गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । निधिले गिरिको बैकुण्ठ बासको कामना गर्दै सामाजिक संजालमा शोकसन्तप्त परिवार प्रति सम्वेदना प्रकट गरेका हुन ।