१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छात्राहरुलाई सम्मान

२०८० श्रावण २६, शुक्रबार १७:४१

कुमार पंकज
सर्लाही / सर्लाहीको पर्सा गाउँपालिकाको वाड:२ संग्रामपुरका १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छात्राहरूलाई सम्मान स्वरुप नगद प्रदान गरि सम्मान गर्ने निर्णय गरेको छ।

वाड स्तरीय बाल अधिकार समितिसंग बाल अधिकारको सवालमा अन्तक्रिर्या कार्यक्रममा उक्त निर्णय गरेको छ । उक्त कार्यक्रममा बाल अधिकारको सम्वर्द्धन तथा प्रवर्द्धन गर्न कानुनी, नीतिगत, संस्थागत प्रावधान तथा समन्वय, सहकार्य र स्थानीय तहको भुमिकाको बारेमा अन्तक्रिर्या गरिएको छ ।

बैशाख ३० गते भएको स्थानीय चुनावबाट पर्सा गाउँपालिका वाड अध्यक्षमा निर्वाचित भएका राकेश रामले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्।

‘यहाँ ६०/७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि १४-१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ रामले भने,‘ नगद दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ।’

एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जान्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?