अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ भाेलि बाँडफाँट हुने

२०८० श्रावण २८, आईतवार १६:११

२०८० साउन २८ काठमाडौ ,

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर भाेलि (साउन २९ गते) सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार भोलि साँझ ५ बजे शेयर बाँडफाँट हुने भएको हो ।

तथ्यांक अनुसार कम्पनीको आईपीओ करिब साढे १३ लाख आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ३२ हजार कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणको लागि निष्काशन गरेको १९ लाख ५३ हजार २७९ कित्ताको ७.७४ गुणा बढी हुन आउँछ ।

कम्पनीले निष्काशन गरेको आईपीओ माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनाले मात्रै शेयर पाउनेछन् ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?