३१ साउन, विराटनगर
कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् ।राज्यमन्त्री मण्डलले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो ।साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट प्रदेश सभा बैठक बोलाएका छन् ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्थ्यो । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्दैन थिए ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने योजनासहित मण्डललाई गठबन्धनकाले राज्यमन्त्री नियुक्त गरेको हो ।
कांग्रेसका मण्डल ८० वर्षका हुन् । उनीपछि जेष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । त्यसपछि पनि एमालेका सांसदहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्षका छन् ।
मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नेछन् ।
उपसभामुखको राजीनामा नदिई बिदामा बस्ने तयारी छ । बिदामा बसे उपसभामुखले अध्यक्ष मण्डलका सदस्यलाई बैठक सञ्चालनको जिम्मेवारी दिनसक्नेछिन् । तर गठबन्धन र प्रतिपक्षी दल दुवै दलबाट अध्यक्ष मण्डलको सदस्य बनेका सांसद जिम्मेवारी लिन तयार छैनन् ।
अध्यक्ष मण्डलमा राप्रपाबाट अम्बरबहादुर विष्ट, एमालेबाट मालती सुब्बा, कांग्रेसबाट इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना सदस्य छिन् ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा अध्यक्ष मण्डल खारेज हुनेछ ।






