वीरगन्जको बालसुधार गृहमा अझै शान्त बन्न सकेको छैन

२०८० भाद्र २७, बुधबार ०७:३१

रातभर तनावग्रस्त बनेको वीरगन्जको बिर्तास्थित बालसुधार गृह अझै शान्त बन्न सकेको छैन ।बुधबार बिहानैदेखि सुधार गृहका बालबन्दीहरुले सुरक्षार्थ खटिका प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि स्थिति अझै नियन्त्रणमा आउन सकेको छैन ।सुधार गृह बाहिर बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएपनि भित्र प्रवेश गर्न सकेको छैन । बालबन्दीहरुले सुधार गृह नजिक जाने प्रहरीमाथि ढुंगामुढा जारी राखेका छन् । अहिले सुधार गृह बाहिर सयौँ प्रहरी तैनाथ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
सुधार गृहमा रहेका बालबन्दीहरूले एक सातादेखि नाइके परिवर्तन गर्नुपर्ने र भक्तपुरबाट ल्याइएका १८ बाल कैदीलाई अन्तै लगिनु पर्ने लगायतका माग राख्दै तोडफोडमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो ।
कैदीबन्दीबीचको विवादले उग्र रुप लिँदा राति अबेरसम्म सुधार गृह तनावपूर्ण बनेको थियो । यसक्रममा सुधार गृहभित्रबाट हानेको ढुंगा लागेर प्रहरीका साथै केही पत्रकारसमेत घाइते भएका थिए । यस्तै बालबन्दीसमेत घाइते भएका छन् । घाइते १० जना बाल बन्दीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
गएराति सुधार गृहमा रहेका बन्दीबीचको विवादलाई साम्य पार्न प्रहरीले बाहिरबाट हवाई फायर र अश्रुग्याँस प्रयोग गर्नु परेको थियो ।उक्त बालसुधार गृहमा हाल १ सय ३४ जना बाल कैदीहरु छन् । हालै भक्तपुर बालसुधार गृहमा उत्पात मच्चाएका बालबन्दीमध्ये १८ जनालाई यहाँ ल्याइएको थियो । यहाँ रहेका बाल कैदीहरुले भक्तपुरबाट ल्याइएकाहरुलाई अन्तै लगिनु पर्ने माग गरेका छन् । आफूहरुको माग सम्बन्धित निकायले सम्बोधन नगरेको भन्दै आक्रोशित उनीहरु मंगलबार राति एक्कासी तोडफोडमा उत्रिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?